नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा हस्ताक्षर
BY ADMIN, ON NOVEMBER 27TH, 2011
नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालका अर्थमन्त्री वर्षमान पुन र उनका भारतीय समकक्षी प्रणव मुखर्जीले हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको उपस्थितिमा सम्झौता भएको हो । यो सम्झौतापछि एक देशमा आयकर बुझाएपछि अर्को देशमा उक्त रकम बराबरको कर तिर्नुपर्ने प्रावधान अब हट्ने भएको छ । सन् १९८७ मा भएको यो सम्झौता प्रतिस्थापन हुने गरी नयाँ सम्झौता भएको हो । यो सम्झौतामा विद्यार्थीले पाउने छात्रवृत्ति अनुसन्धान शोधका लागि पाउने भत्तामा ६ वर्षसम्म आयकर नलाग्ने व्यवस्था गरिएको छ । यसैगरी सम्झौतामा एक अर्का देशका करदाताहरुको सुचना आदानप्रदान गर्ने उल्लेख छ । नेपालमा कर छलेर सीमापारी जाने व्यक्तिबाट भारत सरकारले समेत कर उठाइदिन सक्ने भएकाले नेपाललाई फाइदा हुने बताइएको छ । ३१ बुँदे यो सम्झौताले नेपालको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । नेपालमा आयकरको दर कम भएकाले यो सम्झौतापछि नेपालमा लगानी बढ्ने विश्वास दुवै देशले लिएका छन् । सम्झौता अनुसार भारतीय लगानीकर्ताले भारतमा आयकर तिरेर नेपाल ल्याउने रकममा आयकर तिर्नुपर्ने छैन । नेपालका प्रधानमन्त्री डाक्टर भट्टराईको भारत भ्रमणका क्रममै सम्झौता हुने भनिए पनि दोहोरो कर नलाग्ने सम्झौता भारतको मन्त्रिपरिषद्बाट पारित नहुँदा सम्झौता हुन सकेको थिएन ।
विभिन्न दलका नेता तथा पेशाकर्मीहरुले नेपाल र भारतबीच सम्पन्न द्धिपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता बिप्पा राष्ट्रहितमा नभएको दाबी गरेका छन् । आज राजधानीमा भएको कार्यक्रममा सहभागिहरुले भारत भ्रमणको क्रममा बिप्पा सम्झौता गरेर प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रलाई धोका दिएको आरोप लगाए । कार्यक्रममा बरिष्ठ चिकित्सक उपेन्द्र देबकोटा, नागरिक समाजका सुन्दरमणी दिक्षित एमालेका बिजय पौडेल र माओदीका देब गुरुङले प्रधानमन्त्री भट्टराईले स्वदेशमा छलफल र तयारी नै नगरी विप्पा सम्झौता गरेको वताउनुभयो । माओवादी नेता गुरुङले भारतीय लगानीकर्तालाई क्षतीपुर्ती दिने सम्झौताले नेपाललाई टाट पल्टाउने दावी गर्नुभयो ।
No comments:
Post a Comment